काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषदले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सभापति थापाले यसअघि पटक पटक अवसर पाउँदा त्यसलाई सदुपयोग गर्न नसकेको भन्दै आगामी पाँच वर्ष देशलाई कुनै दुर्घटनामा पर्न नदिई सबैलाई समेटेर राष्ट्र निर्माणका लाग्ने योजनाका साथ अघि बढ्ने बताएका हुन् ।
उनले पार्टीको प्रतिज्ञा पत्रमा समेत पाँच वर्षपछि परिणाम दिने योजना समेटिएको जानकारी दिए । इतिहासका बिभिन्न घटनाहरुबाट प्रेरणा लिएर कांग्रेसले अहिलेको युवाहरुले खोजेको जस्तो देश बनाउने जिम्मेवारी लिन चाहेको उनले बताए । उनले देश बनाउन सक्ने सवैभन्दा पुरानो पार्टी कांग्रेस नै भएकाले कांग्रेसका एजेण्डाहरु तल्लो तहसम्म पुराउनुपर्नेमा जोड दिए ।
नेपाललाई अहिले सुधार चाहिएकाले सुधारको ग्यारेन्टी लिएर आफुहरु चुनावमा होमिएको उनको भनाइ छ । उनले देश बनाउन सवै राजनीतिक दलहरुलाई मिलाएर लैजानुपर्ने भएकाले यसको नेतृत्व कांग्रेसले गर्ने धारणा राखे । सभापति थापाले लोकतन्त्रलाई हाइज्याक हुने कुराबाट बचाउनका लागि, डेलिभरीका लागि र परिणामका लागि समेत बदलिएर आएको कांग्रेस सक्षम रहेको बताए ।