अब सिंहदरबार नजल्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्छ: काँग्रेस सभापति गगन थापा

4

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने जिकिर गरेका हुन् । हामीले मतदातालाई भन्नु पर्छ । एक पटक आँखा चिम्लिएर सोचौँ–फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ ।

अर्को वर्षको भाद्र २३, २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्ने भने त्यो काँग्रेसले मात्रै गर्नसक्छ । यो हामीले जिम्मा लिने हो ।

हामी गर्छौं,’ उनले भने । सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत जिकिर गरे ।

उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताए । ‘देश सम्हाल्ने काम हाम्रो हो । देश भित्र जुन अविश्वास छ, त्यसलाई बदल्ने काम, एक अर्काप्रतिको जुन अविश्वास छ, त्यसलाई भरोसामा बदल्ने काम हाम्रो हो ।

नेपाली काँग्रेसले यो बेलामा सबैसँग संवाद गर्छ,’ उनले भने, ‘हामी तन्नेरीसँग संवाद गर्छौँ । बुढापाकासँग संवाद गर्छौं । मधेश, पहाड सबैसँग संवाद गर्छौं । देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि संवाद गर्छौं । र सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय शुरु गर्न चाहन्छौँ ।’

समाचार वर्गहरू