अमरेश सिंहका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

127

काठमाडौं – सर्लाहीको बलरा नगरपालिका-४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।

मध्यान्ह १२ बजेपछि बलरा-४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन्।

डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा केही व्यक्तिहरूले ज्यान लिने गरी सिधै ताकेर इट्टाले आक्रमण गरेको गाडीमा सँगै रहेका सिन्हाका नाती शनिकुमार सिंहले जानकारी दिए।

सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा-४ का पंकजकुमार झाले आक्रमण गरेको सिंहले जानकारी दिएका छन्। आक्रमणबाट घाइते भएका डा. कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। आक्रमणकारीहरूले हानेको इट्टा रोक्ने क्रममा हात र शरीरका विभिन्न भागमा चोट लागेको घाइते सिन्हाले बताएका छन्।

यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा समेत जानकारी दिइसकिएको घाइते सिन्हाले बताएका छन्। प्रहरीले पनि घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ।

समाचार वर्गहरू