आईपीएल आजबाट सुरु हुँदै

37

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज (शनिबार) बाट सुरु हुँदैछ । भारतमा कोरोना संक्रमण लगातार बढेपछि सिजनको आईपीएल यूएईमा हुँदैछ ।

पहिलो खेलमा अबुधाबीमा शनिबार नेपाली समयअनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ । दुवै टिम आईपीएल इतिहासका सबैभन्दा सफल टिम हुन् ।

आईपीएलको सर्वाधिक विजेता मुम्बईले अहिलेसम्म चार पटक उपाधि जितेको छ । यस्तै चेन्नई तीन पटक च्याम्पियन बनेको छ । गत सिजन उपविजेतामा सीमित भएको चेन्नई आईपीएलको हरेक संस्करणको अन्तिम चारमा पुगेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सुखद सुरुवात गर्न चाहन्छ । तर, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध मुम्बईलाई सहज भने हुने छैन । किनकी चेन्नई पनि सुखद सुरुवात गर्न चाहन्छ । दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।

यसपटकको आईपीएलका लागि खेलाडी, अफिसियल लगायतले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ । दुबई, सारजाह र अबुधावीमा हुने खेलका दौरान रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ । सबै खेलाडीलाई आफ्नो टिम होटल छाड्न बन्देज लगाइएको छ ।

आईपीएलका राउन्ड रोबिनका खेल युएईको तीनमा स्थानमा हुनेछन् । जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन् । मुम्बई र कोलकताले समूह चरणका ८ खेल अबुधावीमा खेल्ने तय भएको छ । यस्तै, सनराइजर्स हैदरावादले ८ खेल दुबईमा खेल्ने तय भएको छ ।

यस्तै, चेन्नई सुपरकिंग्स, किंग्स ११ पञ्जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरका ७-७ खेल दुबईमा छन् । राजस्थान रोयल्सको ६ खेल दुबई, पाँच खेल अबुधावी र तीन खेल सारजाहमा छन् ।

आईपीएलमा यसपटक नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको पहिलो खेल भोलि छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर ट्रिनिडाड एण्ड टोबागोबाट सन्दीप आईपीएल खेल्न यूएई पुगिसकेका छन् ।

समाचार वर्गहरू