एक मत पनि नखसेपछी रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारीहरू

105

दाङ : देशभरका प्रायः मतदान केन्द्रमा बिहीबार प्रतिनिधि सभा सदस्यको रूपमा नयाँ प्रतिनिधि चुन्न मतदाताहरू भरिभराउ थिए। मतदानको उत्साह पनि त्यसरी नै चलिरहेको थियो। निर्वाचन कर्मचारीहरूलाई निर्वाचन व्यवस्थापन गर्न भ्याइ नभ्याइ थियो। तर, दाङमा भने २ मतदान स्थल सुनसान थिए। कर्मचारीहरू मतदाता कुरिरहेका थिए। ५ बजेसम्म पनि मतदाता मतदान गर्न आएनन्। रित्तो बाकस बोकेर कर्मचारी फर्किए।

दाङको बबई गाउँपालिका वडा नं ७ को देउती मावि मलइ मतदान केन्द्रमा एक मत पनि खसेन। यो केन्द्रमा ५३० मतदाता रहेको यो मतदान स्थलमा बेलुका ५ बजेसम्म निर्वाचन कर्मचारीहरूले मतदाता कुरे तर पनि मतपेटिका खालि फर्कियो। यहाँ न मतदाता आए, न त राजनीतिक दलका प्रतिनिधि नै निर्वाचन प्रक्रियामा सहभागी भए। सिंगो गाउँले निर्वाचन बहिष्कार गर्‍यो। यसपटक मलइले राजनीतिक रूपमा शान्त विद्रोह गर्‍यो त्यो पनि सुरक्षा माग्दै।

मलइका मतदान अधिकृत टेकबहादुर खड्काले मतदाताहरू निर्वाचनमा सहभागी हुन नआएको जानकारी गराए। उनले चार जना कर्मचारीहरूको समानुपातिक मत हालको बाकसबाहेक सबै रित्तो बाकास फर्काएर ल्याएको बताए। सर्वदलीय बोलायौ सबै जना आउनुभयो, मतदान अधिकृत खड्काले भने, उहाँहरूले मतदानमा सहभागी हुँदैनौं भन्नु भयो, मतदान प्रक्रियामा कोही सहभागी हुनु भएन। मतदातको समयावधिसम्म बसेर रित्तो ब्यालेट सिल गरेर फर्किएका छौं,’ उनले भने।

बबइ गाउँपालिका १ आधारभूत विद्यालय जिला मतदान केन्द्रमा पनि बहिष्कार भयो। तर, मत शून्य भएन। ६ सय ८२ मतदाता रहेको यस केन्द्रमा १० जनाले मतदाता गरे त्यो पनि २ बजेपछि। जिल्लाले पनि प्रतिनिधि सभा सदस्यको निर्वाचन बहिस्कार नै गर्‍यो। १० मतको मुचुल्का उठाएर निर्वाचनमा खटिएका कर्मचारी फर्किए। यो केन्द्रमा १० मत खसे पनि राजनीतिक दलहरूका प्रतिनिधिहरू भने कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी नभएको मतदान अधिकृत चिरिञ्जीवी खडकाले बताए। हामीले पटक-पटक राजनीतिक दलहरूलाई आग्रह गर्‍यौं। तर, आउनु भएन। मतदाताहरूको पनि अवस्था त्यस्तै भयो।

कारण के हो? 
२०६८ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो। त्यो निर्णयबाट बाँकेसहित सुर्खेत, सल्यान र दाङको भू-भाग पनि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा परे। दाङको दक्षिण पश्चिम पर्ने बबई गाउँपालिका वडा नं. ७ र १ का केही क्षेत्र तथा दंगीशरण १ फुर्केसल्लीमलई बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेका छन्।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दाङको बबई गाउँपालिका-७ र १ को जिला, सिमलकुना र मलइ, कप्तानी, जलजला क्षेत्रका बासिन्दाले निकुञ्ज क्षेत्रबाट आएका वन्यजन्तुले स्थानीय बालीनालीमा क्षति पुर्‍याएको र घरपालुवा वस्तुभाउ समेत बाघ लागेर क्षति पुर्‍याएको र अहिलेसम्म यसको सुनुवाइ नभएकाले निर्वाचनमा सहभागी हुन नसकिने बाँके राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिका संयोजक तथा बबई गाउँपालिका-१का सदस्य चन्द्रबहादुर रागु मगरले जानकारी दिए।

जंगल बढेसँगै गाउँघरमा बाघको आतंक बढेको र यसको समाधान खोजिदिन हारगुहार गर्दासमेत सुनुवाई नभएकाले गाउँलेहरूले एक भएर मतदानमा सहभागी नभएको स्थानीय हरि बस्नेतको भनाइ छ। स्थानीयहरूले भने जनप्रतिनिधि, राजनीतिक दल, सरकार कसैले पनि यो क्षेत्रको मागको सुनुवाइ नगरेको हुँदा निर्वाचन बहिष्कार गरिएको बताएका छन्। बाँके राष्ट्रिय निकुञ्ज पीडितहरूले वन्यजन्तुबाट आफूहरूलाई सुरक्षित बनाउन राजनीतिक दल र दलको प्रतिनिधित्व गर्ने नेताहरूले भूमिका नखेलेको आरोप उनीहरुको छ।

बाँके राष्ट्रिय निकुञ्ज घोषणासँगै विरोध त धेरै भए तर त्यो सफल हुन् नसकेको स्थानीय चन्द्र बहादुरले बताए। ‘यी क्षेत्रका बासिन्दालाई हरेक चुनावमा भोट बैंकका रूपमा परिणत गरियो। तर, माग सम्बोधन भएन। अहिले गाउँलेले त्यही देखाइदिएका हु्न,’ उनले भने। निर्वाचन सहज गराउन केही दिनअघि दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मध्यवर्ती क्षेत्रका समस्याबारे छलफल गरेका थिए। तर, त्यो प्रयास पनि सफल भएन। अन्नपुर्णपोष्ट

समाचार वर्गहरू