ओखलढुंगा मतपरिणामप्रति कानुनी उपचार खोज्ने छु : कांग्रेस उम्मेदवार लुइँटेल

6

काठमाडौं । ओखलढुंगाको मतपरिणामप्रति नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाएका छन् । ५ मतले हारजित भएको ओखलढुंगामा मुचुल्काभन्दा १८६ मत कम भेटिएको भन्दै कांग्रेस लुइँटेलले निर्वाचन आयोगले घोषणा गरेको मतपरिणामप्रति प्रश्न उठाएका हुन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेललाई निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गर्दै प्रमाणपत्र समेत दिइसकेको छ । तर कांग्रेसका उम्मेदवार लुइँटेल भने उक्त मतपरिणामप्रति प्रश्न उठाउँदै कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् ।

झिनै मतले विजेता घोषणा भएका कारण आशंका उत्पन्न भएको ओखलढुंगा कांग्रेसका नेताहरूले बताएका छन् । २१ फागुनमा यस क्षेत्रमा ५९ हजार ७७ मत खसेको थियो । मतदान सकिएपछि मतेपेटिका संकलन गर्नुअघि गरिएको मुचुल्कामा ५९ हजार ७७ मतदान भएको उल्लेख छ ।

आइतबार मतगणना सकिँदा भने सदर र बदर मत जोड्दा ५८ हजार ८९१ मात्र मत पाइएको कांग्रेस उम्मेदवार लुइँटेलको दाबी छ । मुचुल्काभन्दा एक सय ८६ कम मत पाइएपछि आशंका उत्पन्न भएको उनले बताए । ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले भने दलका प्रतिनिधिहरूकै अगाडि रुजु गरेर मतगणना गरिएका कारण कुनै गडबढी नरहेको बताए ।

उनले भने, ‘मतपरिणाम घोषणा भइसकेको छ । यसमा चित्त नबुझे कानुनी उपचारमा जान सकिन्छ ।’ आयोगका अनुसार मोलुङबाट ६ हजार ७७५, चिसंखुगढीबाट पाँच हजार ४८३, खिजीदेम्बाबाट पाँच हजार ६८६, सिद्धिचरण नगरपालिकाबाट ११ हजार ५०४ मत खसेको थियो । यसैगरी लिखुबाट ६ हजार ४१६, चम्पादेवीबाट ७ हजार ४४९, सुनकोशीबाट ७ हजार ८४४ र मानेमञ्ज्याङबा६ ७ हजार ९२० मत खसेको थियो ।

समाचार वर्गहरू