काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसको सरकारलाई साथ दिन चाहेकोमा अध्यक्ष नेपालले आपत्ति जनाएका थिए ।
‘केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेका छन् । कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन्,’ नेपालले भने ।
अध्यक्ष नेपालले नेपाली कांग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको पनि आरोप लगाएका थिए ।