कमजोर पूर्वाधारका कारण नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

17

(काठमाडौं) – सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालको पहिलो घरेलु खेल दशरथ रंगशालामा नहुने भएको छ । कमजोर पूर्वाधारका कारण विश्वकप फुटबलको छनोट चरण अन्तर्गत कुवेत विरुद्धको खेल नेपालले गृह मैदानमा खेल्न नपाउने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसँग खेल दशरथ रंगशालामा नहुने जनाएको छ । नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो ।

तर, पुनर्निर्माण भईरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तय नहुादा नेपाल र कुवेतको खेल नहुने भएको हो । अवे खेल खेलिसकेको नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंसिर ३ गते कुवेतविरुद्ध खेल्दै गृह मैदानमा प्रतियोगिताको सुरुवात गर्दै थियो ।

एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको हो ।

काठमाडौंमा प्रतियोगिता नहुने भएपछि खेलका लागि तटस्थ स्थान खोजिने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता किरण राईले नेपालले भुटानको चाङ्लीमिथाङ रंगशालामा खेल सञ्चालनका लागि फिफा र एएफसीलाई प्रस्ताव गरेको बताए । सो बारे निर्णय हुन भने बाँकी छ ।

साथै एन्फाले भुकम्पले क्षतिग्रस्त मुलुकको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला समयमा नै निर्माण हुन नसक्नु दुखद भएको बताउँदै खेलप्रेमीसँग माफी मागेको छ ।

समाचार वर्गहरू