काठमाडौं – कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाले बैठक बहिष्कार गर्ने जनाएपछी बजेट अन्योल भएको छ । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले आइतबार राति १२ बजेभन्दा अगाडी बजेट ल्याइसक्नुपर्ने हुन्छ ।
तर, कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाले सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको आरोप लगाउँदै बजेट प्रस्तुत गर्ने बैठकमा सहभागी नहुने बताएपछि अहिलेसम्म पनि बैठक अनिश्चित भएको हो ।
दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरूबिच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । आगामी आर्थिक वर्षका लागि बजेट आउने भएपछि अर्थमन्त्री राजीवविक्रम शाहदेखि सबै मन्त्रीहरू प्रदेश सभामा दिउँसो तीन बजे नै पुगेका थिए ।
शीर्ष नेताहरूबिच बेलुका ६ बजेदेखि छलफल चलेपनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।माओवादी संसदीय दलका नेता राजकुमार शर्मा, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र मुख्यमन्त्री यामलाल कँडेलबिच छलफल भइरहेको छ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले दलहरूबिच कुरा नमिलेका कारण अहिलेसम्म बैठक अनिश्चित बनेको बताए ।
‘हामी तयारी अवस्थामै छौँ, तर उहाँहरू (दलका नेताहरू) मिल्नु भएको छैन,’ उनले भने, ‘व्यवस्था अनुसार १२ बजे भन्दा अगाडी बजेट ल्याइसक्नुपर्ने हो । सरकारले यो विषयमा ध्यान दिनुपर्ने हो ।’