काँग्रेसको विशेष महाधिबेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुदै

20

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।

प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् । कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् ।

बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ। आज बन्दसत्रको सुरुमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीति मन्थन हुनेछ।

चार विषयहरूमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए। नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत् छलफल हुनेछ यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए। नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ।

यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै आइपुगेकोले उनीहरूले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।

समाचार वर्गहरू