काँग्रेसको विशेष महाधिबेशनको बन्दसत्र जारी : बन्दसत्रबाट कार्यविधि’ पारित

6

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । सो कार्यविधिमा महाधिवेशनले के–के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको भनिएपनि के–के विषय राखिएको छ भन्नेबारे प्रस्ट भइसकेको छैन । सोमबार बिहानदेखि ज्येष्ठ सदस्य श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भएको हो ।

बन्दसत्र र समग्र विशेष महाधिवेशनलाई शेरबहादुर देउवा समूहले भने बहिस्कार गरेको छ । कांग्रेसको जारी दोस्रो विधान महाधिवेशनमा सोमबारको बन्द सत्रमा दुई जना महामन्त्रीले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । ‘बन्द सत्रमा दुई वटा महामन्त्रीले पेस गर्ने प्रस्ताव पास हुन्छन् । दुई प्रस्तावमा चार विषय छन्’, उनले भने, ‘ती विषयहरूमा समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधान संशोधन, कांग्रेसको परिमार्जन समेटिएका छन् ।’

उनले महाधिवेशन प्रतिनिधिहरू ९ वटा ग्रुपमा विभाजन गरेर महामन्त्रीका प्रस्तावमा छलफल हुने बताए । साथै त्यसरी छलफल भए पनि ग्रुप लिडरको निष्कर्ष सुनाउने कार्यक्रम रहेको महाधिवेशन आयोजक पक्षले जनाएको छ । पोखरेलले प्रस्तावित कार्यविधिमा निर्वाचन गर्नेदेखि बन्द सत्रमा गर्ने कामका बारेमा खुलाइएको जनाएका छन् । ‘हलले स्वामित्व ग्रहण गरेपछि आफ्नो कार्यविधि आफैँ बनाउँछ र पास हुन्छ त्यो काम सुरु भएको छ’, पोखरेलको भनाइ छ ।

समाचार वर्गहरू