काँग्रेस विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्छ – विश्वप्रकाश शर्मा

32

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन्।

विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले जनताका गुनासाहरूको केस्रा केस्रा केलाउने बताए।

‘मैले धेरैपटक सभापतिजीलाई छैटौं पटक प्रधानमन्त्री नबन्नुस् भनेर पटक-पक सुझाव दिएको थिएँ। सभापतिजीले हामीले भनेको सुझाव मानेको भए सायद अहिले उहाँलाई अभिभावकको रूपमा खोजिरहनुभएको हुन्थ्यो होला। उहाँहरूलाई भन्न चाहन्छौं, देश बाहिरकाले सुनोस्, देश भित्रकाले सुनोस्। पार्टी भित्रकाले सुनोस्, बाहिरकाले सुनोस्। यो विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री नबन्ने निर्णय गर्छ,’ उनले भने।

महामन्त्री शर्माले ३४ वर्षमा ३० जा प्रधानमन्त्री बन्दा नेताहरूलाई सन्तुष्टि मिले पनि पनि जनतालाई नमिलेको बताए। ‘यो कोठा र त्यो कोठा चहार्दै गर्दा सिडिओलाई सञ्चो लाग्यो होला। तर, सेवाग्राहीलाई लागेन। जनताका थुप्रै असन्तुष्टि र गुनासाहरू छन्। ती असन्तुष्टि र गुनासालाई हामीले केस्रा केस्रा केलाउँछौं,’ उनले भने।

महामन्त्री शर्माले पुरानै सोच र कार्यशैलीबाट नयाँ यात्रा सम्भव नहुने भन्दै राजनीतिक र सामाजिक परिवेश परिवर्तन भइसकेको बताए । राजनीतिमा पनि मौसम परिवर्तन हुने उल्लेख गर्दै महामन्त्री शर्माले कहिले अनुकूल त कहिले प्रतिकूल अवस्था आउने बताए । त्यस्तो अवस्थालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा हुनुपर्नेमा जोड दिँदै उनले यस विषयमा कांग्रेस नेतृत्वबाट कमजोरी भएको स्वीकार गरे ।

उनले भने– ‘अब नयाँ परस्थिति बनेको छ नेपालमा । बनेको परस्थितिलाई सामना गर्नका लागि, नयाँ परस्थिति निर्माण गर्नका लागि मनस्थिति पूरानो राखेर हुँदैन । मनस्थितिलाई बदल्नुपर्छ । पूरानै आनिबानीलाई राखेर नयाँ अवस्था बनाउन सकिँदैन । राजनीतिमा पनि मौसम परिवर्तन हुन्छ । राजनीतिमा पनि कहिले मौसम अनुकुल हुन्छ त कहिले प्रतिकुल हुन्छ । त्यो अनुकुलता प्रतिकुलतालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नुपर्छ तर यसमा हामीले कमजोरी गर्यौं ।’

समाचार वर्गहरू