कांग्रेसको संसदीय दलको नेता चयन बैसाख २ गते सुरु गरि ४ गते निर्वाचन गरिने निर्णय

6

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ । दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए ।

‘हामीले दलको नेता निर्वाचनका लागि वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गर्छौँ,’ रसाइलीले  भने, ‘४ गते निर्वाचन गर्छौँ।’ वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने रसाइलीले बताए । सकभर प्रक्रिया सुरु गरेर सर्वसम्मतिको प्रयास गर्ने, नभए निर्वाचनमार्फत दलको नेता चुन्ने तयारीमा आफूहरू लागेको स्नेहीले बताए।

कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् । ३८ सांसदको नेता हुनका लागि ४ नेताले इच्छा देखाएका छन् । नेताहरूका अनुसार अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले इच्छा देखाएका छन् ।

केसी र आङदेम्बेले सार्वजनिक रूपमा नै दलको नेतामा दाबी रहेको बताएका छन् । दलको नेता छान्ने निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन्।

समाचार वर्गहरू