काठमाडौं : महामन्त्री गगनकुमार थापाले नेपाल कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन्। विशेष महाधिवेशनको उदघाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताए।
‘कांग्रेस दास र लासहरूको पार्टी होइन। जीउँदो मानिसहरूको पार्टी हो। प्रश्नहरू मरेको छैन। यहाँ कुनै बा छैन, जसले नबोल भन्छ। हामी बोल्न छोड्दैनौं। यहाँ हामी सबै बराबर छौं,’ उनले भने। उनले जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न नसक्ने बताए।
उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो। त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन।’
विशेष महाधिवेशनको हलले गर्ने निर्णय आफूले स्वीकार्ने बताएका छन्। विशेष महाधिवेशन कहाँ गएर टुङ्गिन्छ भन्ने अहिले भन्न नसक्ने बताए ।
उनले भने, ‘तपाईंहरूले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ । त्यसमा केही पनि आपत्ति छैन । जति गर्नुभएको छ मेरो लागि ठूलो छ ।’