कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने गरि लाग्न नेता तगा कार्यकर्तालाई सभापति थापाको आग्रह

10

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई रि–ब्रान्डिङ र पुनर्संरचना गरेर आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउने दाबी गरेका छन् । उनले २०८३ सालभित्र पार्टी मजबुत बनाउने र २०८४ को स्थानीय तथा प्रादेशिक निर्वाचनमा पुनः नेपालको नम्बर एक पार्टी बनाउने सङ्कल्प गरेका हुन् ।

पोखरामा पार्टीको आन्तरिक समीक्षा तथा र आगामी बाटो कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको समय हारको चिन्ता गर्ने नभई गम्भीर चिन्तन गर्ने बेला भएको बताए । ‘यो आत्मरक्षाको समय पनि होइन, यो आत्म निन्दाको समय पनि होइन । यो आत्मसमीक्षाको समय हो । समीक्षा गरौँ, नयाँ कुराहरू खोजौँ,’ उनले भने, ‘एकता र अनुशासनको आधारमा नेपाली कांग्रेस पार्टीलाई ८३ सालमा हामी रि–ब्रान्डिङ पनि गर्छौँ, पुनर्संरचना पनि गर्छौँ । त्यसपछि हुने निर्वाचनमा कांग्रेसलाई एक नम्बर पार्टी बनाउँछौँ ।’

अहिलेको निर्वाचनमा देखिएको चुनौती नेपालको मात्र नभई विश्वव्यापी लहर भएको उनको विश्लेषण छ । ‘पुरानो राजनीतिक शक्तिहरूलाई निर्वाचनमा र निर्वाचनमा मात्र होइन समग्रमै अप्ठ्यारो पर्दै आएको कुरा चाहिँ यो नेपालको लोकल फेनोमेनन मात्रै होइन, यो अहिले ग्लोबल्ली छ,’ थापाले थपे– ‘अहिले संसारभरि पपुलिज्मको लहर छ ।

र त्यो पपुलिज्मसँगै के आएको छ भने नयाँ मिडिया आएको छ—जसलाई हामीले बोलीचालीमा सामाजिक सञ्जाल भन्ने गरेका छौँ ।’ आगामी २०८३ साललाई पार्टीले विशेष कार्यतालिका सहित अगाडि बढाउने उनको भनाइ छ । पार्टीको सङ्गठन र सदस्यता वितरणलाई फेरेर अब कांग्रेस आइडेन्टिटी कार्ड वितरण गरिने उनको भनाइ छ ।

‘मैले अब क्रियाशील सदस्य कार्ड होइन, मैले कांग्रेस आइडेन्टिटी कार्ड पाउँछु । त्यो डिजिटल हुन्छ, अब देखि कहिल्यै पनि एकचोटी पाएपछि फेरि पहिलाको जस्तो फर्महरू केही पनि भर्नुपर्दैन,’ उनले भने । समयमै सदस्यता अद्यावधिक नगर्नेले १५ औँ महाधिवेशनमा भाग लिन नपाउने उनले बताए ।

समाचार वर्गहरू