कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत गर्नु पर्ने उपसभापति शर्माको ७ कारण

7

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिकुलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्‍याउने कमान्ड छोडेर सभापति गगन थापाले पदत्याग गर्नु सङ्गठनप्रति न्याय नहुने जिकिर गरेका छन्।

केन्द्रीय समितिको बैठकमा शर्माले पेस गरेको प्रस्तावमा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय नहुने उनको भनाइ छ। शर्माको प्रतिवेदनमा भनिएको छ, राजनीतिमा हनिमुन पिरियड भन्ने गरिन्छ, खास गरी सरकारको नेतृत्व कसैले सम्हालेको सुरुवाती सय दिनलाई ।

त्यो वार्म अपको अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिन्न । त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न, अनि प्रतिकुलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु सङ्गठनप्रति न्याय हुन्न । नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर राजीनामा अस्वीकृत गर्ने निर्णय बैठकले गर्नुपर्ने उल्लेख छ।

उनले औँल्याएका ७ कारण

१) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मूल नीतिको विजय भएको छ । कांग्रेसले अङ्गीकार गरेको राजनैतिक र आर्थिक नीतिका पछिल्तिर पुराना नयाँ सबै दल उभिन आइपुगेका छन् । वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थव्यवस्था अबको नेपालमा सबैको साझा मूलमार्ग बन्न पुगेको छ ।

२) नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनैतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ । प्रतिपक्षी बेन्च जिम्मेवार ढङ्गले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिकपद्धतिको सुदृढीकरणलाई पुग्नेछ । राम्रा कुरालाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ साथ, खराबीमा खरो विमति काग्रेसको रहनेछ ।

३)  परिस्थितिको पराजय हुँदा विकास पनि देशभर पार्टीपङ्क्ती हल्लिएको छैन । दृढ ढङ्गले अघि बढेर नयाँ अत्यन्तै सकारात्मक गर्न सकिन्छ भन्ने ऊर्जा आम पार्टी सदस्यमा देखिएको छ ।

४)  विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा ऊर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो । अतः पराजय व्यहोरेको भए पनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अव्यक्त मनोविज्ञान र व्यक्त धारणा पाइएको छ ।

५) प्रतिकुल अवस्था बिच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो होइन । तर परिवर्तनको सन्देशले पार्टी पङ्क्तिमा ऊर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ । पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समीक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।

६) उसबेला विशेष महाधिवेशनसँग असहमत रहे पनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठुलो पङ्क्तिमा ’पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पुर्‍याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभीष्ट पनि हो ।

७) बर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रूपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगअब नयाँ ढङ्गले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पङ्क्तिमा पुर्‍याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ सङ्कल्प र नयाँ विश्वासका साथ नवीन ऊर्जाले हामी अग्रसर हुनुन्छ ।

समाचार वर्गहरू