काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक,रामेछाप, काभ्रेसहित यी २९ जिल्लामा आज बाढीको खतरा

142
फाइल तस्बिर: काभ्रेको पनौती

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ २९ गते बिहीबार) राजधानी काठमाडौँसहित देशका २९ जिल्लामा बाढीको जोखिम देखिएको जानकारी गराउँदै सतर्क रहन सुझाव दिएको छ।

बाढी महाशाखाले बिहीबार बिहान बुलेटिन जारी गरी आज ललितपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने नदी/खोलामा बाढी बढ्ने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ।

यीमध्ये पनि भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुला जिल्लाका लागि भने महाशाखाले पहेँलो रङ लगाएको छ अर्थात् ‘एल्लो वारेन्ट’ नै जारी गरेको छ। मौसमविद्का अनुसार पहेँलो रङ लगाउनुको अर्थ सामान्य जोखिमभन्दा अलि बढी मध्यम जोखिमको संकेत गर्नु हो।

यस्तै बाढी महाशाखाले आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ।

समाचार वर्गहरू