काठमाडौं-५ काँग्रेसका उम्मेदवार पौडेलको १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ)

12
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले १४ बुँदामा काठमाडौं ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको भन्दै उनले रिङ रोड दोश्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुशी टोखा सडक, विष्णुमती करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको उल्लेख गरेका छन् ।

पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कूल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी तथा तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ ।

उनले सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताएका छन् ।

पौडेलले क्षेत्र ५ लाई मेडिकल हबका रुपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफू स्वास्थ्य मन्त्री हुँदा उद्घाटन गरेको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठलाई अत्याधुनिक, व्यवस्थित र थप प्रभावकारी बनाउनेसमेत उल्लेख गरेका छन् ।

पौडेलले आफ्नो प्रतिज्ञापत्रमार्फत संघीय संसदमार्फत व्यवसायमैत्री कानून निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गरेका छन् ।

‘हाम्रा युवा जनशक्तिलाई विश्व प्रविधि बजारसँग प्रतिस्पर्धा गर्न एआई, डिजिटल मार्केटिङजस्ता विषयमा उच्चस्तरीय शैक्षिक तालिमको प्रबन्ध गर्दै क्षेत्रलाई डिजिटल इनोभेसन हबका रुपमा आवश्यक नीति र पूर्वाधार तयार गरिनेछ,’ उनले भने ।

समाचार वर्गहरू