काभ्रे बस दुर्घटनाको कारण पत्ता लगाउन र उपचारलाई तीव्रता दिन निर्देशन

49

काठमाडौं – काभ्रे बस दुर्घटनाका घाइतेको उपचारलाई तीव्रता र दुर्घटनाको कारण पत्ता लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।

कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा दुर्घटनाको कारण पहिचान गर्न र घाइतेको उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयले दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन र घाइतेको प्रभावकारी उपचारको प्रबन्ध मिलाउन भनेको छ । त्यस्तै, प्रभावित एवं पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशित गरिएको छ ।

शुक्रबार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– २ स्थित सेल्फीडाँडामा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बनेपाबाट रोशी गाउँपालिका– ६ को सुँगुरेतर्फ जाँदै गरेको बा.३ख ८३९८ नम्बरको बस सडकबाट तीन सय मिटर तल खसेको हो । स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरिएका घाइतको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार दुर्घटनामा मृत्यु भएका आठजनामध्ये चार पुरुष र चार महिला छन् । मृतकमध्ये चारजनाको मात्र पहिचान खुलेको छ । मृतकमध्ये रोशी गाउँपालिका– ७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी– ६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी– ८ की ६० वर्षीया प्यारी तामाङ र दैलेख घर भएका ३० वर्षीय नेपाली सेनाका अमल्दार बमबहादुर भण्डारीको पहिचान खुलेको हो । अन्य चारजनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमध्ये रोशी– ७ का ६० वर्षीय डम्बरबहादुर शाह, ६०–६२ वर्षीय पुरुष र २०–२२ वर्षीया महिलाको अवस्था चिन्ताजनक रहेको धुलिखेल अस्पतालले जनाएको छ । अन्य घाइतेको पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

एसपी कार्कीले दुर्घटनाको कारण खुल्न नसकेको बताए । ‘बस पुरानो रहेछ । के कारणले दुर्घटना भएको हो खुल्न सकेको छैन,’ उनले भने, ‘चालक पनि घाइते छन् । अब अनुसन्धानपछि कारण खुल्छ होला । ’

समाचार वर्गहरू