काठमाडौं । कैलालीको खक्रौला नाकामा बिलसहितको सामान बरामद गरेको विषयलाई लिएर सशस्त्र प्रहरी र व्यवसायीबीच विवाद भएको छ। मंगलबार साँझ टीकापुरको एसजीए ट्रेडर्सले ल्याएको सामानलाई सशस्त्रको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) टोलीले ‘अवैध’ भन्दै नियन्त्रणमा लिएपछि तनाव भएको हो।
टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सशस्त्रले व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाए। ‘भन्सार तिरेर ल्याइएको सामानलाई अवैध भन्दै बरामद गर्नु सरासर ज्यादती हो। सीमाको तस्करी रोक्नु प्रशासनको काम हो तर वैध व्यवसायीलाई हैरान पार्न पाइँदैन’ उनले बताए।
विवाद बढ्दै जाँदा बुधबार बीओपीमै पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि सशस्त्र प्रहरी बलको ७ नं. वैद्यनाथ बाहिनीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। बाहिनीले बीओपीका ३३ जना सुरक्षाकर्मीलाई धनगढीस्थित गणमा तान्न निर्देशन दिइएको छ।