कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

50

(एजेन्सी) – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ । चीनमा बुधबारमात्रै कोरोना संक्रममित ७० जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ भने, २४ हजार ३ सय नागरिकमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २५ देशका १ सय ९१ जनामा फैलिसकेको छ । अहिलेसम्म चीनबाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ । हङकङमा २१ जनामा सो भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पताल मंगलबार प्रशासनले पुष्टि गरेको थियो । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो ।

उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको मंगलबार मृत्यु भएको थियो । बुधबारमात्रै जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका सबै जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ ।

हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको र २१ जनामा सङ्क्रमण देखिएकाले अब चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको हङकङले जनाएको हो । आउँदो शनिबारदेखि यो निर्णय लागू हुने बीबीसीले जनाएको छ ।

समाचार वर्गहरू