काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको छ । कार्यक्रम स्थगित हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गरेको छ । बीमा बोर्डले भुक्तानी ढिलाइका कारण सेवा बन्द गर्नुपरेको केन्द्रका कार्यकारी निर्देशक डा। रवि मल्लले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य बीमाबाट मात्र १४ करोड लिन बाँकी छ । बीमा बोर्डले विपन्न कार्यक्रम पनि आफैं हेर्न थालेपछि झनै समस्या बढेको डा। मल्लको भनाइ छ । यसमा विपन्न नागरिक औषधि उपचार कोष कडा रोग लागेका बिरामीलाई एक लाखसम्म सहयोग जोडिएपछि थप २५ करोड लिन बाँकी रहेको उनले बताए ।
‘पहिला विपन्नको दाबी सजिलै पास हुन्थ्यो, अहिले बीमाले हेर्दा झमेला बढ्यो र बक्यौता झ्याप्पै बढ्यो’, डा। मल्लले अनलाइनखबरसँग भने, ‘बाध्यताले सेवा बन्द गर्नुपर्यो ।’ यसअघि त्रिवि शिक्षण अस्पतालले पनि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरिसकेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने चेतावनी दिन थालेका छन् । बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।