काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्रा नेपालीहरुको मौलिक सांस्कृतिक पर्व भएको बताएका छन्। परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’का अवसरमा दिएको शुभकामना सन्देशमा देउवालेले यो पर्व महत्वपूर्ण रहेको बताएका हुन्।
उनले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरे । उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताए ।
पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले शुभकामना सन्देशमामार्फत भनेका छन्,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो।’
उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने उल्लेख गरे। पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति,भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताए ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ।