काठमाडौं – नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको छ। त्यस्तै, हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।
यसअघि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६८ रहेको थियो भने अब घटेर १६७ कायम गरिएको छ।
यसैगरी सुर्खेत र दाङ क्षेत्रमा १७० मूल्य रहेको थियो भने अब १६९ पुगेको छ। त्यस्तै, पोखरा, काठमाडौं र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १७१ रहेको थियो भने घटेर १७० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।
