काठमाडौं । सरकारी घर भाडामा लिई व्यवसायीक रुपमा संवाद कार्यक्रम सञ्चालन गर्दै आएका ऋषि धमलालाई घरभाडा चुक्ता गर्न समाज कल्याण परिषद्ले ताकेता गरेको छ । रौतहट क्षेत्र नम्बर ४ मा आमजनता पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका ऋषि धमलाको नाममा रहेको रिपोर्टर्स क्लव नेपालले समाज कल्याण परिषद्लाई ६९ लाख ५७ हजार ७ सय २२ रुपैयाँ ८१ पैसा घर भाडा बुझाउन आनाकानी गर्दै आएपछि घरभाडाबापतको उक्त बक्यौता बुझाउन परिषदले पटक–पटक क्लवलाई ताकेता गरिरहेको जनाएको छ ।
रिपोर्टर्स क्लवले भृकुटीमण्डप क्षेत्रमा कार्यालय संचालन गरेदेखि नै भाडा नतिरेकाले २०८२ पुस मसान्तसम्म ६९ लाख ५७ हजार ७ सय २२ रुपैयाँ ८१ पैसा तिर्न समाज कल्याण परिषदले ताकेता २०८२ माघ ८ गते ताकेतापत्र पठाएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको स्वामित्वमा रहेको स्टल नं २२ मा रहेको रिपोर्टर्स क्लव नेपाललाई सात दिनभित्र घरभाडा बुझाउन ताकेता गरे पनि क्लवले ३१ दिनसम्म पनि भाडा बुझाएको छैन ।
परिषदका एक अधिकारीले परिषदले पछिल्लो पटक २०८२ माघ ८ गते ताकेता पठाउँदा पनि क्लवले घरभाडा नतिरेको बताए । ती अधिकारीले भने–पटक–पटक ताकेता पठाउँदा पनि रिपोर्टर्स क्लवले भाडा तिरेको छैन । समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपका स्टल भाडामा लिएर क्लब संचालन गरेका धमलाले भाडा तिर्न ताकेता गर्दा प्रधानमन्त्रीदेखि समाजकल्याण मन्त्रीबाट दबाब दिने गरेको परिषदका अधिकारी बताउँछन् । परिषदले भाडा तिर्न ताकेता गर्दा धमलाले ‘म मन्त्रिपरिषद (क्याबिनेट) बाट मिनाहा गराउँछु’ भन्दै तुजुक देखाउने गरेको कर्मचारीको गुनासो छ ।
जबकि ऐनले तोकेको भाडा मन्त्रिपरिषदले मिनाहा गर्न सक्दैन । समाज कल्याण ऐन, २०४९ अनुसार परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपका स्टलहरुको भाडा मिनाहा गर्न मन्त्रिपरिषदले सक्दैन भन्ने कुरासमेत ऋषि धमलाले ख्याल नगरी बक्यौता तिर्न अटेर गर्दैआएका छन् । सरकारले ऐनअनुसार तिर्नुपर्ने बक्यौता नतिर्ने ब्यक्ति वा संस्थासँग सरकारी बाँकीसरह गर्नसक्छ । बेरुजु फस्र्योट नगर्नेको त उम्मेदवारी दर्ता निर्वाचन आयोगले गर्दैन भने सरकारी बक्यौता नतिर्ने धमलाको उम्मेदवारी कसरी दर्ता भयो भन्ने प्रश्न पनि उठेको छ ।
क्लवलाई पठाएको परिषदको ताकेतापत्रमा उल्लेख छ–समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप क्षेत्रस्थित स्टल नं.२२, त्यस रिपोर्टर्स क्लब नेपालले भाडामा लिई प्रयोग गरेबापत परिषद्लाई बुझाउनुपर्ने बक्यौता रकम विगत लामो समयदेखि नबुझाएको हुँदा बुझाई हिसाव मिलान गर्नुहुन भनी पटक–पटक पत्राचार एवं गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी ताकेता गर्दा समेत अटेर गरी बक्यौता नबुझाएको हुँदा ७ (सात) दिनभित्र २०८२ पुस मसान्तसम्मको बक्यौता रकम रु ६९ लाख ५७ हजार ७ सय २२ रुपैयाँ ८१ पैसा चुक्ता गर्नुहुन अन्तिम पटक परिषद् कार्यालयको मिति २०८२ माघ ८ को निर्णयानुसार जानकारी गराइन्छ ।
यो पत्रलाई अटेर गरी बक्यौता चुक्ता नगरेको खण्डमा स्टलमा तालाबन्दी गरी प्रचलित कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउन समाज कल्याण परिषद् बाध्य हुनेछ । यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवार स्वयं संस्था नै हुने व्यहोरा सोही निर्णयानुसार जानकारी गराउँदछु ।’ परिषदका सहायक निर्देशक लेखराज शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैबीच समाज कल्याण परिषद्ले भृकुटीमण्डप क्षेत्रस्थित स्टल नं ७ मा रहेको नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई समेत २०८२ माघ ८ गते नै सात दिनभित्र घरभाडा बुझाउन ताकेता गरेको थियो ।
परिषदले महासंघले २०८२ पुस मसान्तसम्मको बक्यौता ३१ लाख ५१ हजार १ सय ४७ रुपैयाँ बुझाउन बाँकी रहेको सूचना सार्वजनिक गरेको छ । परिषदले रिपोर्टर्स क्लव र पत्रकार महासंघको घरभाडाबापतको बक्यौता तिर्न पठाएको ताकेता पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी वृत्त सिंहदरबार, समाज कल्याण परिषद्लाई समेत दिएको छ ।