चुनावपछि सिंहदरबार जलाएर मौकामा जेलबाट भाग्ने अतिवाद आउने खतरा छ – गगन थापा

69

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले यो चुनावको परिणामले दुईखाले अतिवादलाई पक्षपोषण गर्ने खतरा रहेको बताएका छन् ।

बुटवलको चुनावी सभामा बोल्दै थापाले नेपालले अब कुनै पनि खालको द्वन्द्व खेप्न नसक्ने भन्दै कांग्रेसले सम्हालेर लैजाने जिकिर गरेका छन् ।

उनले भने, ‘एउटा अतिवाद जसले भदौ २३-२४ गतेको घटनाको अवमूल्यन गर्छ, त्यो हुँदै भएको होइन षड्यन्त्र हो भन्छ । त्यहाँ युवाहरूको सहभागिता देख्दैन, असन्तुष्टि व्यक्त भएको देख्दैन । त्यस्तै खतरनाक अर्को अतिवाद छ जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ, मौका पर्दै गर्दा आफैँ जेलबाट पनि भाग्छ । यो दुइटै अतिवाद हिजो पनि देख्यौँ, भोलि पनि आउन सक् छ। पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने समय छ ।’

पाँच वर्ष अर्को कुनै प्रयोग गर्नेतर्फ नलाग्न आग्रह गर्दै उनले कांग्रेसले आगामी पाँच वर्ष एकछिन पनि विश्राम नलिई देश र जनताको पक्षमा काम गर्ने दृढता व्यक्त गरे। मुलुकमा चर्का कुरा गरेर नहुने भन्दै उनले गाउँ, सहर, नयाँ, पुराना सबैलाई मिलाउँदै, छरछिमेकबिच सन्तुलन मिलाएर अगाडि बढ्न कांग्रेसले जित्नुपर्ने बताए।

कांग्रेस हिजोका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्छु भनेर नयाँ संकल्पसहित आएको चर्चा गर्दै सभापति थापाले पार्टीले एउटा अर्को मौका पाउनुपर्ने बताए। कांग्रेसले पाँच वर्षभित्र परिणाम दिने प्रतिज्ञा गरेर आएको भन्दै उनले कांग्रेसले मौका पाउनुपर्नेमा जोड दिए। कांग्रेसको सरकार बनेपछि प्रत्येक महिना कामको योजनासहित अगाडि बढ्ने र महिना पुगेपछि कामको समीक्षा गर्दै थप काम गर्दै अगाडि बढ्ने उनले बताए।

समाचार वर्गहरू