चुनावी अभियानबाट महावीर पुनको साढे २७ लाख बचत

75

काठमाडौं – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब २७ लाख रुपैयाँ बचत गरेका छन्।चुनावमा जम्मा भएको चन्दा रकमबाट उनले खर्च गरेर सो रकम बचत रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ विभिन्न दाताहरूबाट कुल ५६ लाख ३७ हजार ८९३ आम्दानी भएको बताएका छन्। ४५ दिन लामो चुनावी प्रचारप्रसारका क्रममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अझै पनि बैंक खातामा २७ लाख ६९ हजार २५ रुपैयाँ बाँकी रहेको उनले  स्पष्ट पारेका छन्।

झापा वा काठमाडौं जस्तो सुगम क्षेत्रमा एक घण्टामै धेरै ठाउँ घुम्न सकिने भए पनि म्याग्दीको भूगोल फरक रहेको भन्दै उनले म्याग्दीको भौगोलिक विकटताका कारण चुनावी अभियान चुनौतीपूर्ण रहेको बताएका छन्।

१० देखि १६ जनाको टोली लिएर ४५ दिनसम्म बिहान ७ बजेदेखि राति १० बजेसम्म खटेर जिल्लाका सबै गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरेको उनले उल्लेख गरेका छन्।

सोही अवधिमा भएको खर्च कटाएर बाँकी रकम अब जनताको सेवामा खर्च गर्ने उनको योजना छ। बैंकमा बाँकी रहेको उक्त रकम आगामी ५ वर्षसम्म बेनीमा एउटा सम्पर्क कार्यालय सञ्चालन गर्न उपयोग गर्ने पुनले घोषणा गरेका छन्।

 

समाचार वर्गहरू