काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचनको परिणाम स्वीकारेर अघि बढ्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन्। हिजो भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपामा बहुमततिर अग्रसर भएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताए।
उनले नेपाल प्रेससँग भने, ‘अब निर्वाचन परिणाम अब जे आउँछ जनताको अभिमतबाट प्रकट हुने निर्णय जे छ त्यो निर्णय स्वीकार्नुपर्छ। अहिले प्रारम्भिक जे नतिजाहरू आइराखेको छ त्यही नतिजाका आधारमा सबै निर्णय सुनाइहाल्न अलि हतार हुन्छ तर जनताको जे फैसला आउँछ त्यो स्वीकार्य छ।’
अहिलेको फैसला स्वीकार गरेर आगामी दिनमा संगठन निर्माण, अझ राजनीतिक मूल्य मान्यता स्थापित गर्ने र जनपक्षीय काममा आफ्नो ध्यान केन्द्रित हुने बताए। पुरानो पार्टीहरूप्रति आकर्षण कम हुनुको कारणबारे उनले भने, ‘अहिले सबै फैसला आइसकेको छैन। जे प्रारम्भिक कुरा आएको छ, त्यसका आधारमा जे जनताको अभिमतबाट फैसला हुन्छ त्यो सबै राजनीतिक दलहरू, सबै नेतृत्वले स्वीकार्नुपर्छ। हामीसँग स्वीकारेर जानुको विकल्प हुँदैन।’