काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले निलम्बन गरेका उपाध्यक्ष दिपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ ।
सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्यहरुको आइतबारको बैठकले आर्थिक अपचलन तथा पार्टीविरोधी गतिविधिमा संलग्न रहेको भन्दै उक्त निर्णय गरेको हो ।
जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा बसेको बैठकले निलम्बितद्वय उपाध्यक्ष र कोषाध्यक्ष विगतमा पनि पार्टीको अनुशासन तोडेको, व्यक्तिवादी र स्वार्थी चरित्र देखाएको तथा चुनावका समयमा पार्टीविपरीत गतिविधि गरेको पुष्टि हुने तथ्य प्रमाण फेला परेकोले त्यस्तो निर्णय गरिएको जनाइएको छ ।
यसअघि नै पार्टीको रकम दुरुपयोग गरेको, पार्टीका नाममा आएको लेवीको रकम अपचलन गरेको, पार्टीको रकमवाट खरिद गरिएका सम्पत्ति निजीकरण गरी फिर्ता गर्न आनाकानी गरेको आरोप लगाई दुवै जनालाई निलम्बन गरिसकेको छ ।