काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ ।
एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
एमालेका जनसंगठन २३ वटा छन् । एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने हिजो नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए ।
आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएका ओलीलाई भर्ना गरिएको छ । यसैबीच, नेकपा एमालेका अध्यक्ष ओली पक्राउ परेपछि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
अध्यक्ष ओली पक्राउ गरेको विरोधमा काठमाडौंको मुख्य सडकहरुमा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । चाबहिल चोकमा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
आज बिहानै पक्राउ परेका ओलीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । सुरक्षा व्यवस्था कडा बनाइएको छ । सरकारले आज बिहान ओलीलाई गुण्डुबाट पक्राउ गरेको थियो । ओलीको गिरफ्तारीको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले भृकुटीमण्डपमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीका अनुसार विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको जानकारी गराए । शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले जनसंगठनहरूलाई विरोधमा उतार्ने निर्णय गरेको थियो ।
संयुक्त प्रदर्शन हुनुअघि विद्यार्थी संगठनले छुट्टै प्रदर्शन गर्न लागेको हो । संयुक्त प्रदर्शन ३ बजे हुन्छ । अनेरास्ववियुले अब केहीबेरमा भुकुटीमण्डपमा विरोध प्रदर्शन गरेको बताइएको छ ।