जुम्लाको जुवा खालबाट १० जना पक्राउ, १ लाख बढी नगद बरामद

122
फाइल फोटो

काठमाडौं – जुम्लाको पातारासी गाउँपालिका-५ लासीबजारमा जुवातास खेलिरहेका होटल सञ्चालकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

लासीबजारमा ४८ वर्षीया उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलबाट जुवातास खेलिरहेको अवस्थामा नगदसहित १० जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

दिउँसो ५ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असीम हमालले बताए।

जुवातास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको थियो। उक्त बजार सदरमुकामबाट झण्डै १५ किलोमिटर पूर्वमा पर्ने लासीबजारमा उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलमा प्रहरीले छापा हानेको थियो। हमालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय रूपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा पातारासी-४ बस्ने राम बुढा, पातारासी-५ बस्ने धनबहादुर बुढा, श्यामबहादुर रेउले, कर्ण बुढा, नैन बुढा, गोविन्द बुढा, पातारासी-६ बस्ने पूर्णसिंह महतारा, गोरख बुढा, ७ बस्ने अनिल खड्का रहेका छन्।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवातास, लागूऔषध नियन्त्रण गर्न अभियान नै चलाइरहेको छ।

समाचार वर्गहरू