काठमाडौं – सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनाका आरोपित सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहित पाँचजना फरार भएका छन् ।
उपमेयर चौधरीसहित उनका छोरा सिरज तथा सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्मका सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी तथा स्थानीय रवीन्द्र स्वर्णकार फरार भएका हुन् ।
उपमेयरका पतिसमेत रहेका कम्पनीका सेयरधनी सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरी भने पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले दुईजना पक्राउ परे पनि उपमेयरसहित पाँचजना फरार रहेको बताए । पक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप भएर अनुसन्धान भइरहेको उनले बताए । ‘फरारको हकमा खोजी भइरहेको छ,’ उनले भने । सप्तकोशीका मेयर कृष्णप्रसाद ढकालले पनि उपमेयर सम्पर्कविहीन रहेको र आफूलाई थप जानकारी नरहेको बताए ।
ज्योति विकास बैंक प्रादेशिक कार्यालय बर्दीवासका उपप्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि उपमेयर चौधरीसहित कम्पनीका सेयरधनी तथा आफन्तले गत बुधबार घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लठ्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि बैंकले उपमेयर चौधरीसहित सातजनाविरुद्ध अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको थियो ।
बैंकका अनुसार सप्तकोशी नगरपालिका– ७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले २३ वैशाख ०७८ मा बैंकबाट चार करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा कम्पनीको नाममा रहेको ओद्राहास्थित तीन बिघा १४ कट्ठा र कञ्चनरूप नगरपालिका– १२ मा रहेको १६ कट्ठा आठ धुर जग्गा धितो राखिएको थियो । तर, २८ चैत ०८१ यता किस्ता नतिरेपछि बैंकले अघिल्लो शुक्रबार धितो लिलामीको सूचना निकालेको थियो ।
सूचनाको म्याद पूरा हुन नपाउँदै बैंकले टिकटकमार्फत जग्गा बिक्रीसम्बन्धी विज्ञापन गरेको भन्दै प्रालिका सेयरधनी आक्रोशित बनेका थिए । गत बुधबार फिल्डमा पुगेका बैंक कर्मचारीमाथि आक्रमण भएको बताइन्छ ।
सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनापछि बैंकले उपमेयर रीताकुमारी चौधरीसहित सातजनाविरुद्ध प्रहरीमा अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको थियो । उपमेयर चौधरी, उनका पतिसमेत रहेका सेयरधनी सञ्जीवकुमार चौधरी र छोराहरू सिरज र पञ्चदेवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भएको थियो । यसबाहेक सेयरधनी प्रभुनारायण चौधरी, ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारको नाम पनि जाहेरीमा उल्लेख छ । नयाँपत्रिका