झण्डा जलाउनेमाथि कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने छौ : नेशनल भोलेन्टियर्स फोर्स

3

काठमाडौं। नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा समेत जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै झण्डा जलाउने,उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भनेका छन् । यस्ता कार्यमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले कारवाही नगरे अराजकहरूलाई कारबाही गर्न सशक्त प्रतिवाद गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन् ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएकोमा एमाले महासचिव शंकर पोखरेलले अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताएका छन् । सामाजिक सञ्जालमा महासचिव पोखरेलले झण्डा जलाएर आस्थामा चोट पुर्‍याउनेलाई जनताले चिन्नुपर्ने उल्लेख गरेका छ्न् । पोखरेलको भनाइ छ, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् ।

झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’ बिहीबार राति सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ता र समर्थकले एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएका थिए । रास्वपाले भने घुसपैठ भएको जिकिर गरेको छ ।

समाचार वर्गहरू