झण्डै ६ महिनापछि देशभर सार्वजनिक यातायात सञ्‍चालन हुँदै

39

काठमाडौं – झण्डै ६ महिनापछि लामो दूरीको सार्वजनिक सवारीसाधन आज (बिहीबार) बाट सञ्चालन हुने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि गरिएको लकडाउन र निषेधाज्ञाका कारण मुलुकभर यातायात सेवा ठप्प थियो ।

भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा मजदुर ट्रेड युनियन नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लामा, मध्यम, छोटो र स्थानीय रुटमा सबै गाडी सञ्चालनमा आउने उल्लेख गरेका छन् ।

सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले तोकेबमोजिमको स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन तयार रहेको बताए ।

यात्रुहरुले यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नुपर्ने, श्रमिकहरुले मास्क, स्यानिटाइजर, पञ्जा, फेस भाइजर लगायत स्वास्थ्य उपकरणहरु अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ ।

गत सोमबारकोे मन्त्रिपरिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दूरीमा सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो ।

समाचार वर्गहरू