काठमाडौं – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।
शनिबार भएको सेमिफाइनल खेलमा टस हारेर ब्याटिङ गरको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। वर्षाले खेल प्रभावित भएपछि ५० ओभरको खेलमा ४२ मा झारिएको थियो।
२८२ रनको जवाफी ब्याटिङ गरेको कुवेतले भने ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाएको थियो। त्यसपश्चात निरन्तर पानी पर्न थालेपछि खेल नतिजाविहीन बनेको थियो।
नेपाली टिममा एक परिवर्तन भएको छ। प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्।