टी – २० सिरिजमा नेपाल जिम्बाब्वेसँग पराजित

22

काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले टेष्ट राष्ट्र जिम्बावेसँग दोस्रो हार व्यहारेको हो ।

मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो । सिरिज अन्तर्गत नै गत शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

ईन्डियन एसोसियसन मैदानमा जिम्बाब्वेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि अन्य व्याट्सयान चल्न सकेन । अघिल्ला खेलमा शतक बनाएका कप्तान पारस खड्का १२ रनमा आउट भए । अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

इशान पाण्डेको स्थानमा टिममा आएका पवन शरार्फले खाता नै खोल्न सकेनन् । उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि मात्र चार रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उत्कृष्ट प्रर्दशन गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्काको मदतले ५३ रन बनाए । उनलाई पारस खड्काले बोल्ड गरे ।

यस्तै जिम्बावेका रायन ब्रुलले अविजित २८ तथा पिटर मुरले २१ रन बनाए । टिनोटेण्डा मुटोमबोड्जीले २० रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २ २ विकेट लिए ।

सोमपालले चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर दुई विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए । यस्तै, कप्तान पारस खड्का र अविनाश बोहराको नाममा समान १ १ विकेट रह्यो ।

यो जितसँगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ ।

३ खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । हारसँगै नेपालको सिरिजको उपाधि जित्ने सम्भावना समेत न्यून भएको छ ।

अब नेपालले सिंगापुरसँग बुधबार अन्तिम खेल खेल्नेछ । यस्तै जिम्बावेले अन्तिम खेलमा बिहिबार सिंगापुरको सामना गर्नेछ ।

समाचार वर्गहरू