टेलिकमले नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई प्रयोजन गर्ने

18

(काठमाडाैं) – नेपाल टेलिकमले एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजन भएको भएको छ । प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजन सम्बन्धी दुबै निकायबीच बुधबार सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरे । सम्झौता अनुसार टेलिकम आज देखि नै लागू हुने गरी आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ ।

सो प्रायोजन बापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउने छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् ।

सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्ने छन् । जर्सीको अगाडि भागको माथि दाहिने पट्टि नेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिने छ ।

त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँ पट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ । त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवद्र्धनात्मक सामग्रीहरुमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीहरुको निःशुल्क प्रयोग गर्न सक्नेछ ।

उक्त अवसरमा प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकता समेत थप मजबुत हुने बताउँदै यस्तो कार्यमा सहयोग गर्न पाएकोमा कम्पनी गौरवान्वित भएको बताए । आगामी एक वर्ष कम्पनीको व्यावसायिकता र नेपाल पुलिस क्लबका खेलाडीको खेलजीवन साथसाथै लैजान पाएकोमा उनले खुशी व्यक्त गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी र नेपाल टेलिकम बीचको यो सम्झौता मार्फत फुटबलको माध्यमबाट खेलका साथै राष्ट्रिय एकता प्रवद्र्धन गर्न समेत विशिष्ट योगदान पुग्ने बताए ।

यस सम्बन्धी सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशकहरु तथा अन्य वरिष्ठ अधिकृतहरु एवं नेपाल प्रहरीको तर्फबाट प्रहरीका वरिष्ठ अधिकृतहरुका साथ क्लबका पुरुष तथा महिला खेलाडी तथा प्रशिक्षकको समेत उपस्थिति रहेको थियो ।

समाचार वर्गहरू