ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् : मन्त्री अर्याल

21

(पोखरा) – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माउकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छिन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिवार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’मा कर्मचारीलाई निर्देशन दिंदै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किने गरी काम गर्न आग्रह गरिन ।

बाहिरै देखि मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न उनको आग्रह थियो । तर कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गरिन् । जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरे डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्नुनहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताईन । तर गलत काममा भने साथ नदिने उनको भनाई थियो ।

काम गर्ने क्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन् । काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिईन । मन्त्री अर्यालले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् १ इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’

मन्त्रालय नयाँ ढंगबाट अगाडी बढ्न खोजेको भन्दै उनले बेथितिका कारण कहिले काँही उmर्जा पनि निराश हुनुपर्ने अवस्था आउने गरेको बताईन । सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस भन्ने अपेक्षा रहेको मन्त्री अर्यालले बताईन ।

गण्डकी प्रदेशभरका भूमि तथा नापी कार्यालयका कर्मचारीलाई सचेत गराउँदै मन्त्री अर्यालले मन्त्रालयले नीतिगत रुपमा गरेका परिवर्तन व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुने बताईन ।

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै मन्त्री अर्यालले त्यसका आधारमा सरकारले अब एकिकृत भूमि ऐन बनाउन लागेको बताईन । सरकारले निर्माण गरेका नीति नियम पढेर अगाडी बढ्न आग्रह गर्दै उनले प्रविधिको प्रयोग गर्ने कुरा उदाहरणीय भएको बताईन ।

समाचार वर्गहरू