काठमाण्डौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको मागमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले समर्थन जनाएको छ। शुक्रबार त्रिवि शिक्षण अस्पतालमा सत्याग्रहमा रहेका डा. केसीलाई भेटी संघले ऐक्यबध्दता जनाएको नेबिसंघका महामन्त्री बलदेब तिमल्सिना ले बताए।
केन्द्रीय समितिबाट अध्यक्ष राजिव ढुंगना, महामन्त्रि बलदेव तिमल्सिनाको नेतृत्वमा संघका नेताहरु द्वारा स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा नागरिकको स्वास्थ्यमा सहज पहुँच र विपन्न बिद्यार्थीले सुलभ तरिकाले चिकित्सा शिक्षा हाँसिल गर्न पाउँनु पर्दछ भन्ने उद्देश्यका साथ अनबरत संघर्षरत अभियन्ता डा.गोविन्द केसीको सत्याग्रह प्रति नेबिसंघ केन्द्रिय समितिको तर्फबाट अनसनस्थल त्रिबि शिक्षण अस्पताल महराजगंज पुगेर ऐक्यबद्धता प्रकट गर्दै संघले डा केसीले उठाएका माग प्रति पुर्ण समर्थन जनाउदै उनको जीबन रक्षाको निम्ति अपील गरेको नेबिसंघ का महामन्त्री बलदेव तिमल्सिना ले बताए।
यस्तो छ केसीले राखेका १९ औं सत्याग्रहको माग
१- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।
२- मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।
३- हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
४- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
५- बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।
६- राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्।
यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।