काठमाडौं – सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत राखेको छ।
बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रूपैयाँ र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा एक रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ बढाएर पठाएको छ।
नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा लिटरको १५८ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ।
हवाइ इन्धन भने आन्तरिकतर्फ लिटरको १३७ रूपैयाँ पर्नेछ। बाह्यतर्फ प्रतिलिटर अमेरिकी डलर १.०४२ पर्नेछ।
https://drive.google.com/file/d/1G1_uwPONWLHU9zP4_TwtIMR-KZXSS32W/preview?usp=sharing