काठमाडौं – कोटेश्वर तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
दुर्घटनामा नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो।
तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१-०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो।
भ्यानले बा प्र ०२-०५३ प ३८४७ नम्बरको पल्सरलाई ठक्कर दिएको हो। भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
मोटरसाइकल चालक रामेछाप दोरम्बा- ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ। भ्यान चालक काभ्रे मण्डनदेउपुर-१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखा गौरीशंकर २४ की मेनुका बुढाथोकी घाइते भएका छन्। प्रहरीका अनुसार ट्रमा सेन्टरमा उनीहरूको उपचार भइरहेको छ।
बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोहराले जानकारी दिए। भ्यान र मोटरसाइकल र बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ।