थाईल्याण्डकी पोर्नतिप र भियतनामका फामलाई उपाधि

14

(काठमाडौं) – थाईल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिला तर्फ र भियतनामका काव सुओङ्ग फामले पुरुष तर्फको योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को उपाधि जितेका छन् ।

आईतबार सम्पन्न फाईनल खेलमा पहिलो स्थान प्राप्त पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ को जित निकाल्दै उपाधि जितेकी हुन् । यस्तै, पुरुष तर्फ प्रतियोगितामा छैटौं वरियता पाएका भियतनामका फामले आठौं स्थान प्राप्त थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पन्छाउँदै उपाधि उचालेका हुन् ।

विजयी पुरुष तथा महिला एकल तर्फ विजेताले नगद १८७५ यूएस डलर र उपविजेताले ९५० डलर सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै तेश्रोले ३६२.५० डलर, प्रमाण पत्र र मेडल प्राप्त गरे ।

महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले उपाधि उचालिन । प्रतियोगितामा पहिलो वरियता प्राप्त अष्ट्रेलियन जोडीले फाईनलमा चौंथो स्थानका मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे । यस्तै, पुरुष युगल तर्फ आत्री मनु र रेड्डी बी सुमिथको जोडीले भारतकै एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि उचाले ।

मिश्रित युगल तर्फ थाईल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधि हात पारे । थाईजोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका हुन् ।

विजयी पुरुष तथा महिला जोडी र मिश्रित जोडीले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योती राणा लगायतले पुरस्कार वितरण गरेका थिए । पाँच दिन सम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १ सय ९ खेलाडीहरुको सहभागिता रहेको थियो । पहिलो पटक नेपालले आयोजना गरेको च्यालेञ्जको पुरस्कार २५ हजार डलरको थियो ।

समाचार वर्गहरू