दुई दिन अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन सरकारको अनुरोध

90

काठमाडौँ – सरकारले दुई दिन अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो अनुरोध गरेको हो।

‘चैत ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ। तसर्थ काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भीडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले आग्रह गरेको छ।

यस्तो छ शुक्रबार र शनिबारको मौसम

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्बार दिउँसो  देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ पर्ने सम्भावना छ। यसैगरी  असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एकदुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।

शुक्रबार राति: देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।

शनिबार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

शनिबार राति कोशी र बागमती प्रदेशको पहाडी र हिमाली थोरै स्थानमा तथा मधेश प्रदेशलगायत देशको बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। रासस

समाचार वर्गहरू