दुम्कीवासमा विनय खोला पुल भाँचियो

35

काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा पुल भाँचिएर सडक अवरुद्ध भएपछि डाइभर्सन निर्माण गर्न थालिएको छ । शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो ।

‘पुल दिउँसो साँडे चार बजेतिर भाँचिएको हो। यो पहिलेदेखि नै जोखिम थियो। हामीले पटकपटक सरकारलाई, सडक निर्माण गरिरहेको कम्पनीलाई भनेका थियौँ,’ विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले भने, ‘पुलबाट सवारी लिएर जान मिल्ने अवस्थामा छैन। वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई भनिरहेका छौँ।’

उनका अनुसार दुम्कीवास हुँदै सर्दीको भाइरल सडकको बाटोलाई वैकल्पिक मार्ग बनाउन सकिन्छ। त्यस्तै साना सवारीलाई आज साँझदेखि नै अस्थायी डाइभर्सन बनाएर आवतजावत गर्न मिल्ने बनाउने प्रयास भइरहेको छ।

‘ठूला सवारीलाई होङ्सी सिमेन्टको फ्याक्ट्री हुँदै जान मिल्नेछ। अर्को यहाँ एउटा महावीर क्रसर भन्ने छ त्यहाँबाट पनि जान मिल्छ,’ उनले भने, ‘ठूला सवारीलाई आउजाउ गर्न मिल्ने भोलिसम्म बनाउँछौँ। आज अँध्यारो भएकोले डाइभर्सन बनाउन सम्भव भएन।’ पुल भाँचिएपछि राजमार्गमा ठूलो जाम भएको उनको भनाइ छ।

समाचार वर्गहरू