दूरदर्शी नेतृत्वको खोजीमा : गगनकुमार थापाप्रतिको विश्वास

60
  • डा. गंगादत्त नेपाल

पञ्चायती व्यवस्थाको उत्तरार्धदेखि नेपालको राजनीतिलाई सूक्ष्म रूपमा नियाल्दै आएको मेरो जीवनयात्राले विभिन्न राजनीतिक कालखण्डका नेताहरूसँग नजिकबाट काम गर्ने अवसर प्रदान गर्‍यो। आफ्नो जन्मभूमि सिन्धुपाल्चोक जिल्लाका दुर्गम पहाडहरूबाट विद्यालय शिक्षा सफलतापूर्वक सम्पन्न गरी उच्च शिक्षाको उद्देश्यले काठमाडौं प्रवेश गर्दा देशमा जनआन्दोलन २०४६ उत्कर्षमा पुगिरहेको थियो। त्यस ऐतिहासिक आन्दोलनकै परिणामस्वरूप नेपालमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भयो।

प्रजातन्त्र पुनःस्थापनापछिका वर्षहरूमा नेपाली राजनीतिमा अनेकौं नेतृत्वकर्ताहरू उदाए – कसैले आफूलाई स्थापित गरे, कसैले समयसँगै स्थान गुमाए। खुला राजनीतिक परिवेशले थुप्रै युवालाई आफ्नो नेतृत्व क्षमता उजागर गर्ने अवसर प्रदान गर्‍यो। यिनै अवसरबाट उदाएका, अध्ययनशीलता र वैचारिक स्पष्टताका कारण अलग्गै पहिचान बनाउन सफल एक विशिष्ट नाम हो – गगनकुमार थापा।

गगनसँग मेरो भेट कलेज जीवनकै दौरानमा भएको हो। अन्य राजनीतिज्ञभन्दा पृथक्, स्पष्ट दृष्टिकोण, निर्भीक अभिव्यक्ति र आशालाग्दो युवा व्यक्तित्वका कारण उनी प्रारम्भदेखि नै मेरो ध्यानमा परे। त्यसयता मैले उनको राजनीतिक पृष्ठभूमि, संघर्ष र यात्रालाई नजिकबाट नियाल्दै आएको छु।

विद्यार्थी राजनीतिबाटै पहिचान बनाएका गगन थापा आज समसामयिक नेपाली राजनीतिमा जनमानसको विश्वास जित्न सफल भएका छन्। छोटो समयमै राजनीतिको केन्द्रबिन्दुमा पुगेर एक कुशल, सक्षम र परिपक्व राष्ट्रिय नेताका रूपमा स्थापित भएको देख्दा मलाई गर्व र हर्ष दुवै अनुभूति हुन्छ। विद्यार्थी राजनीतिबाट खारिँदै अघि बढेका गगन थापा विशेषतः जनआन्दोलन २०६२/६३ को ऐतिहासिक जगमा नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित भए।

उक्त आन्दोलनका समयमा म भने जर्मन सरकारको छात्रवृत्तिमा उच्च अध्ययनका लागि जर्मनीमा थिएँ। संयोगवश, गगनका सहोदर दाजु मेरा सहपाठी मित्र भएकाले हामी टाढा रहेर पनि नेपाली राजनीतिका घटनाक्रमहरू नजिकबाट नियाल्थ्यौँ र गगनको उज्ज्वल राजनीतिक भविष्यबारे निरन्तर छलफल गरिरहन्थ्यौँ।

लेखक : डा. गंगादत्त नेपाल
        लेखक : डा. गंगादत्त नेपाल

………सुझबुझ, अध्ययन र दीर्घकालीन दृष्टिकोणका साथ गगनको नेतृत्वमा यो कार्य सफलतापूर्वक सम्पन्न भयो। विशेषतः १०६ निर्वाचन क्षेत्रमा नयाँ, युवा र सम्भावनाशील अनुहारहरूलाई उम्मेदवारका रूपमा अघि सार्नु नेपाली कांग्रेसको राजनीतिक संस्कारमा आएको महत्वपूर्ण परिवर्तनको संकेत हो।…..

उच्च अध्ययन सम्पन्न गरी स्वदेश फर्किएपछि हाम्रो परिवार २०५८ सालदेखि तत्कालीन कपन गाउँ विकास समिति वडा नं. १ (हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. १२), काठमाडौंमा स्थायी रूपमा बसोबास गर्दै आएको छ। २०६४ सालको संविधानसभा निर्वाचनदेखि हामी सपरिवार काठमाडौं क्षेत्र नं. ४ का विधिवत् मतदाता बनेका हौँ। त्यसयता यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू निरन्तर विजयी हुँदै आएका छन्।

यही क्रममा गगनकुमार थापा २०६४ सालको संविधानसभामा समानुपातिक प्रणालीमार्फत तथा २०७० को संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भई यस क्षेत्रको नेतृत्व गर्दै आएका छन्। हाल भने, राष्ट्रको नेतृत्व गर्ने व्यापक जिम्मेवारीको अनुभूति र राष्ट्रिय दृष्टिकोणसहित  गगन थापा तराईको सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका छन्।

आफ्नै निर्वाचन क्षेत्रप्रतिको गहिरो माया हुँदाहुँदै पनि यस्तो निर्णय लिनु उनको राजनीतिक सोच स्थानीय सीमाभन्दा माथि उठेर राष्ट्रिय दायरामा विस्तार भएको स्पष्ट संकेत हो।

राजनीति स्वयंमा जोखिमको खेल हो, र राजनीति गर्ने व्यक्तिले समय–समयमा साहसिक निर्णय लिनु अपरिहार्य हुन्छ। विशेषतः नेपाली कांग्रेसजस्तो ऐतिहासिक र जनआन्दोलनको विरासत बोकेको पार्टीभित्र पछिल्ला वर्षहरूमा विरासतको राजनीति हावी हुँदै जानु गहिरो विडम्बनाको विषय बनेको थियो। विचार, सिद्धान्त र जनउत्तरदायित्वभन्दा पनि नाम, थर र गुटको प्रभाव बढ्दै जानुले पार्टीको जीवन्तता र जनविश्वास दुवै कमजोर बन्दै गएको यथार्थलाई इन्कार गर्न सकिँदैन।

यही जटिल र संवेदनशील अवस्थामा, विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसलाई नयाँ जीवन दिने साहसिक पहलको नेतृत्व गगनकुमार थापाले गरे। स्थापित संरचना, शक्तिशाली गुट र परम्परागत सोचको सामना गर्दै उनले देखाएको राजनीतिक साहस आज देश–विदेशमा व्यापक चर्चाको विषय बनेको छ। जोखिम मोलेरै सही निर्णय लिनु नै साँचो नेतृत्वको परिचायक हो, र त्यो गुण गगनको नेतृत्वमा स्पष्ट देखियो।

विशेष महाधिवेशनपछिको संक्रमणकालीन अवस्था, निर्वाचन आयोग र सर्वोच्च अदालतसम्मको जटिल यात्रा, अनि अत्यन्त सीमित समयभित्र १६५ संघीय निर्वाचन क्षेत्रका उम्मेदवारहरू टुंग्याउनु-यो प्रक्रिया गगन र उनको टोलीका लागि कत्तिको कठिन थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। मात्र २४ घण्टाभित्र यस्तो ऐतिहासिक र संगठनात्मक रूपमा संवेदनशील निर्णय गर्नु कुनै पनि हिसाबले सजिलो कार्य थिएन।

तर सुझबुझ, अध्ययन र दीर्घकालीन दृष्टिकोणका साथ गगनको नेतृत्वमा यो कार्य सफलतापूर्वक सम्पन्न भयो। विशेषतः १०६ निर्वाचन क्षेत्रमा नयाँ, युवा र सम्भावनाशील अनुहारहरूलाई उम्मेदवारका रूपमा अघि सार्नु नेपाली कांग्रेसको राजनीतिक संस्कारमा आएको महत्वपूर्ण परिवर्तनको संकेत हो।

यसले पार्टीभित्र पुस्तान्तरण, विचारको नवीकरण र भविष्यप्रतिको आशालाई संस्थागत गर्ने दिशामा ठोस कदम चालेको प्रमाण दिन्छ। यस साहसिक निर्णयले केवल चुनावी रणनीतिलाई मात्र होइन, नेपाली कांग्रेसको दीर्घकालीन राजनीतिक दिशा र चरित्रलाई समेत पुनःपरिभाषित गरेको छ। जोखिम उठाएर परिवर्तनको नेतृत्व गर्नु नै इतिहास र भविष्यलाई जोड्ने सेतु हो र त्यो सेतु निर्माण गर्ने साहस गगनकुमार थापाले प्रदर्शन गरेका छन्।

वास्तवमा, कुनै पनि देशको समग्र विकासका लागि दूरदर्शी, दृढ र इमानदार नेतृत्व अपरिहार्य हुन्छ। डा. महाथिर मोहम्मदको नेतृत्वमा मलेसियाले विकासको नयाँ काँचुली फेरेको इतिहास सर्वविदित छ।

ली कुआन युको नेतृत्वमा सिंगापुरले अभूतपूर्व विकासको फड्को मार्‍यो भने सही नेतृत्व, लगनशीलता र निरन्तर परिश्रमकै कारण जापान आज विकसित राष्ट्रको पंक्तिमा उभिएको छ।

सन् २००५ यता जर्मनीमा अध्ययनका क्रममा मैले प्रत्यक्ष मतबाट सत्तामा पुगेकी वैज्ञानिक पृष्ठभूमिकी नेता एंगेला मर्केलको १६ वर्षे नेतृत्वलाई नजिकबाट बुझ्ने अवसर पाएँ। उनको विदाइका बेला जर्मन जनताले देखाएको सम्मान र सद्भावले मेरो मनमा गहिरो प्रश्न जन्मायो – नेपालमा यस्तै दूरदर्शी र त्यागी नेता को हुन सक्छ?

जर्मनी र नेदरल्यान्डमा बिताएका वर्षहरूले विकास, सुशासन, प्रविधि र वातावरणीय सन्तुलनबारे मेरो दृष्टिकोणलाई अझ गहिरो बनाएका छन्। म विकास र वातावरण विषयको विद्यार्थी हुँ।

यही पृष्ठभूमिमा मैले नेपालका ७० भन्दा बढी जिल्लाहरूको भ्रमण गरेको छु। ती यात्राहरूले मलाई हाम्रो भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता र सन्तुलित विकासको अपरिहार्य आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर दिएका छन्। आजको नेपाली राजनीतिक परिदृश्यलाई सूक्ष्म रूपमा नियाल्दा, अधिकांश नेतृत्व अझै पनि पुरानै ढर्रा, शैली र मानसिकतामा सीमित देखिन्छ।

अध्ययन, स्पष्ट दृष्टि र दीर्घकालीन सोचविनाको नेतृत्वले जनआकांक्षालाई व्यवहारमा उतार्न सक्दैन। यही सन्दर्भमा, अध्ययन, विवेक र स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेका र जनताको आशा – भरोसाको केन्द्र बन्न सफल व्यक्तित्वका रूपमा गगनकुमार थापा बारम्बार अग्रपंक्तिमा देखिन्छन्।

उनी अध्ययनशील छन्, विषयवस्तुको गहिरो विश्लेषण गरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता उनीमा प्रशस्त छ। संसदभित्र वा बाहिर उनले उठाएका मुद्दाहरूमा जनताबाट प्राप्त समर्थन त्यसको प्रमाण हो।

आलोचनालाई आत्मसात् गर्ने क्षमता, निराशालाई आशामा रूपान्तरण गर्ने दृढता, सुन्ने संस्कार र आवश्यक निर्णयमा अडिग रहने साहस – यी सबै गुणले उनलाई समसामयिक नेतृत्वको उच्च स्थानमा उभ्याएको छ। “Sector-wise Project Governance” जस्ता पहलहरूले उनी राष्ट्रको नेतृत्वका लागि योजनाबद्ध रूपमा तयारी गरिरहेका छन् भन्ने संकेत दिन्छ। यद्यपि, उनको बढ्दो लोकप्रियताका कारण कहिलेकाहीँ अनावश्यक आरोप र संकीर्ण आलोचना पनि देखिन्छ।

तर स्मरण रहोस् – राष्ट्रको समग्र समृद्धिको कुरा गर्दा पनि गगनले आफ्नो निर्वाचन क्षेत्र कहिल्यै बिर्सेका छैनन्। काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत कपन क्षेत्रमा बाढी, ढल व्यवस्थापन र अव्यवस्थित शहरीकरणका जटिल समस्याहरू समाधान गर्न गगनको पहलमा बहुवर्षीय योजनाहरू कार्यान्वयनमा छन्। विकास निर्माण तत्काल देखिने प्रक्रिया होइन; तर सही योजना र इमानदार कार्यान्वयनले दीर्घकालीन समाधान सुनिश्चित गर्छ भन्नेमा म विश्वस्त छु।

समग्र राष्ट्रको नेतृत्व गर्न सक्ने क्षमता, अवसर र व्यापक जनसमर्थन भएका गगनकुमार थापालाई आफ्नो प्रतिनिधिका रूपमा पाउनु काठमाडौं क्षेत्र नं. ४ का मतदाताका लागि गर्वको विषय थियो नै।

तर आजको आवश्यकता केवल एउटा निर्वाचन क्षेत्रको प्रतिनिधित्व मात्र होइन; देशले मागिरहेको छ : स्पष्ट मार्गदर्शन, दूरदर्शी सोच र राष्ट्रिय नेतृत्व। यही राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै गगनकुमार थापा अहिले निर्वाचनको मैदानमा मधेश झरेका छन् र सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका छन्।

यो निर्णय कुनै व्यक्तिगत आकांक्षा होइन, बरु राष्ट्रको नेतृत्वका लागि आफूलाई थप जिम्मेवारीसहित प्रस्तुत गर्ने साहसिक कदम हो। वास्तवमा, देशको नेतृत्व गर्न सक्षम व्यक्ति कहाँबाट निर्वाचनमा प्रतिस्पर्धा गर्छ भन्ने कुरा गौण हुन्छ; महत्वपूर्ण कुरा उसको दृष्टि, क्षमता र राष्ट्रप्रतिको प्रतिबद्धता हो।

आज गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ वा सर्लाही क्षेत्र नं. ४ का मात्र नेता रहेनन्। उनी सम्पूर्ण देशका नेता हुन्। जनताको अपेक्षा अनुसार नीति, विचार र योजनाका आधारमा देश सञ्चालन गर्ने व्यक्ति होइनप्रणाली  नीतिले शासन गर्ने संस्कृतिको विकास आजको अपरिहार्य आवश्यकता हो। गगनको नेतृत्वमा त्यही मूल्य र मान्यतालाई संस्थागत गर्दै राष्ट्रलाई सही दिशामा अघि बढाउन सकिने विश्वास आम जनतामा बढ्दो छ।

त्यसैले समग्र राष्ट्रको समृद्धि, सुशासन र दिगो विकासको मार्ग प्रशस्त गर्न, गगनकुमार थापाको राष्ट्रनेतृत्वलाई सफल बनाउन तथा नीतिमा आधारित लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्न सम्पूर्ण नेपाली जनताले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतका साथ निर्वाचित गराउनुपर्ने समय आएको छ। यही ऐतिहासिक जिम्मेवारीका साथ, म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु।

(लेखक डा. नेपाल बागमती प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष हुन्। उनी मेलम्ची नगरपालिका, सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् भने – हाल काठमाडौं क्षेत्र नं. ४ मा बसोबास गर्दै आएका छन्।)

 

समाचार वर्गहरू