काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग नजिकिएको भन्ने सन्दर्भमा प्रष्टीकरण दिएका छन्।
बिहीबार काठमाडौं प्रेस युनियनले आयोजना गरेको पदस्थापना कार्यक्रममा डा. शेखर कोइरालाले मुख खोलेका हुन्।
‘सभापति देउवासँग शेखर मिल्यो भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन,’ कोइरालाले भने, ‘सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ।’
उनले सभापतिले बोलाएका बेला मात्रै आफू भेट्न गएको र भेट्न आउँछु भनेर आफूले समय लिएर सभापति देउवालाई नभेटेकोसमेत प्रष्टीकरण दिए।‘सभापतिले बोलाउनुभयो भने जानुपर्यो,’ उनले भने, ‘नबोलाई म आउँदैछु भनेर म जाने गरेको छैन, जान्न पनि!’
सभापति देउवासँग केमा मिलेको हो खुलाइदिनसमेत उनले आग्रह गरेका थिए। ‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,’ उनले गुनासो गरे।
सभापति देउवासँग पहिले आफ्नो भेट हुने नगरेको पनि बताए। ‘पहिलेपहिले देउवासँग भेट गर्दैनथे, आजकल गर्छन् भन्ने कुरा पनि आएको छ। पहिले उहाँले बोलाउँदै बोलाउनुहुन्थेन त के भेट गर्ने?,’ उनले प्रश्न गरे, ‘बोलाएपछि त भेट्न जानुपर्यो, उहाँ सभापति हो।’