देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

18
फोटो - रासस

काठमाडौँ – देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा छ। कोशी र मधेश प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश क्षेत्रमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहँदा अन्य पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु देखिने सम्भावना रहेको छ। यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहँदा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। रासस

समाचार वर्गहरू