देशभर हावाहुरीसँगै वर्षा : आज पनि हावाहुरी र वर्षाको सम्भावना

87

काठमाडौं – शुक्रबार अपराह्नदेखि देशभर ठुलो हावाहुरीसहित वर्षा भएको छ । विशेषगरी बागमती र लुम्बिनी प्रदेशमा भीषण हावाहुरी चलेर दिउँसै अँध्यारो वातावरण बनेको थियो । पश्चिमी हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरगढीमा ६ घण्टाभित्र सबैभन्दा बढी ४६.४ मिमि वर्षा मापन भएको छ । काठमाडौंको बबरमहलमा एक घण्टाभित्रै २०.४ मिमि वर्षा रेकर्ड भएको छ ।

‘छोटो समयमै ठुलो पानी पर्‍यो, हावाहुरी, चट्याङ र असिनापानी परेको छ,’जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘यो वर्षा अस्वाभाविक होइन, पश्चिमी वायुमा न्यूनचापीय प्रणाली मिसिनुका साथै स्थानीय वायु पनि सक्रिय भएकाले ठुलो पानी र हावाहुरी चलेको हो ।’

शुक्रबार अपराह्नपछि ६ घण्टामा मकवानपुरगढीमा ४६.४, काठमाडौंको बबरमहलमा ४५, मकवानपुरको चिसापानीगढीमा ३६, सर्लाहीको बोर्लेनीमा ३१.२, नवलपरासीको डन्डामा ३०.८, काभ्रेको बोल्देमा ३० र लमजुङको बेँसीसहरमा २९.८ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज शनिबार पनि हावाहुरी र वर्षाको सम्भावना छ । ‘देशका धेरै ठाउँमा बादल लाग्ने देखिन्छ । तर, शुक्रबारको जस्तो नभए पनि वर्षा हुन्छ । पूर्व र मध्यमा हावाहुरी पनि चल्छ,’  उनले भने, ‘शनिबार रातिबाट प्रणाली कमजोर हुन्छ, आइतबार केही ठाउँबाहेकमा पानी पर्दैन ।’

विभागका अनुसार शनिबार कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थान  तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ ।

आइतबार देशका पहाडी र हिमाली क्षेत्रमा थोरै स्थान तथा कोशी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

समाचार वर्गहरू