नयाँ पुस्तालाई गौरवपूर्ण इतिहास र संस्कृति सिकाउन जरुरी छ : प्रधानमन्त्री

66

रासस/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भाषा, संस्कृति र सत्कारलाई बिगार्न नहुने बताएका छन् । गृह मन्त्रालयमा आज मंगलबार ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा छापिएको समाचारको विषय कोट्याउँदै आफ्नो भाषाको मर्मलाई मार्न नहुने बताए ।

उनले भने, “हाम्रो सञ्चारमाध्यमलाई हजुरभन्दा साह्रै सानो लाग्छ, अङ्ग्रेजीमा कपी गरेर मिस्टर/म्याडम भनेर बोलाउँदा राम्रो लाग्छ, कसैलाई तपाईं भन्नुपर्दा अपमान भएजस्तो लाग्छ, त्यस्तो होइन हाम्रो भाषा बच्चाबच्चीलाई माया गरेर तँ भनिन्छ, हुर्किंदै गएपछि तिमी हुन्छ र अग्रज वा सहकर्मीलाई तपाईं भनिन्छ ।” तपाईं भन्ने आदरार्थी व्यवहार समाजबाटै हटाउने सङ्गठित प्रयास भएको भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे ।

प्रजातन्त्र मूल समारोह समितिका संयोजकसमेत रहेका उनले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेकोमा जोड दिए । उनले लोकतन्त्रमा वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्यप्रति उत्तरदायी हुने सभ्य समाज हुने तर मनपरी गर्न पाइने छाडातन्त्र स्वीकार्य नहुने स्पष्ट पारे ।

समाचार वर्गहरू