नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ

18

(काठमाडौं) – श्रृंखलावद्ध प्रस्तुती लिएर लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ । त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले केहि वर्षयता लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दै आएको छ ।

सन् २००९ बाट सुरु भएको यस्तो यात्राको यो चौंथो श्रृंखला हो । यसपटक नेपथ्यको भ्रमण टोलीमा ६ जना ब्याण्डका सदस्य हुनेछन् भने उत्तिकै संख्यामा प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहनेछ । केहि दसक यता अष्ट्रेलिया, नेपाली विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तब्य रहिआएको छ भने, रोजगारी र बसोबासका हिसाबले पनि उल्लेख्य संख्यामा नेपालीहरु उता पुगेका छन् ।

नेपाली संगीतको आस्वादलाई आफूसँगै बोकेर गएका तिनै नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले पनि अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको छ । यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजित हुनेछ ।

त्यहाँस्थित फोर्टिच्यूड म्यूजिक हलमा नोभेम्बर १९ तारिखका दिन नेपाली लोकरकको चीरपरिचित स्वर नेपथ्यले गुञ्जाउने छ । ब्रिसबेन पछि नेपथ्यले उत्तर तर्फको डार्बिनमा नोभेम्बर २२ तारिखका दिन, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८ तारिख, सिड्नीमा डिसेम्बर १४ प्रस्तुती दिएपछि अन्तिम प्रस्तुतीको लागि मेलवर्न पुग्ने छ ।

यस यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन आयोजना हुनेछ । नेपथ्यको यस वर्षको यात्रा संयोजन ’नेपाली टच’ले गर्न लागेको हो । आफ्नो प्रिय ब्याण्डले फेरि अष्ट्रेलियाको यात्रा गर्न थालेकोमा त्यहाँस्थित नेपालीहरु अत्यन्त खुशी रहेको ’नेपाली टच’का दिपेश पुनले बताए ।

अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

समाचार वर्गहरू